नियम ४०
संरक्षण निजी वन सम्बन्धी व्यवस्था
(१) संरक्षण क्षेत्रभित्रको जग्गाधनीले संरक्षण क्षेत्रको व्यवस्थापन योजनाको अधीनमा रही निजी वनको विकास, संरक्षण र व्यवस्थापन गर्न तथा वन पैदावारको उपयोग गर्न सक्नेछ ।
(२) यस नियमबमोजिम निजी वनको विकास, संरक्षण र व्यवस्थापन गर्न परिषद्ले निजी वनको धनीलाई आवश्यक प्राविधिक सहायता उपलब्ध गराउन सक्नेछ ।
(३) संरक्षण निजी वनको धनीले सो वनको वन पैदावार संरक्षण क्षेत्रभित्र उपयोग गर्ने गरी ओसारपसार र बिक्रीवितरण गर्न पाउने छ ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भएतापनि संरक्षण निजी वनका वन पैदावार सोको धनीले संरक्षित क्षेत्रबाहिर लैजान र बिक्रीवितरण गर्नु परेमा वन पैदावारको जात, किसिम र परिमाण खोली सम्बन्धित समितिको सिफारिससाथ परिषद् समक्ष निवेदन दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिमको निवेदन प्राप्त भएमा परिषद्ले आवश्यक जाँचवुझ गरी त्यस्तो वन पैदावार निजी वनको धनीको देखिन आएमा वन पैदावारको जात, किसिम र परिमाण खुलाइ काठको हकमा टा“चा लगाइ परिषद्ले संरक्षण क्षेत्रबाहिर लैजान अनुसूची–११ बमोजिमको ढांचामा छोडपूर्जी दिनु पर्नेछ । तर नेपाल बाहिर काठ निर्यात गर्न छोडपूर्जी दिइने छैन ।